काठमाडौं । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को महेशकुमार श्रेष्ठ नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई मान्यता दिँदै सबै नेपाली दूतावासहरूलाई जानकारी गराएको छ । मन्त्रालयकी शाखा अधिकृत सृजना कोइरालाले वैशाख ३० मा परराष्ट्र मन्त्रीलाई सम्बोधन गरेको पत्रमा श्रेष्ठको कार्यसमिति सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनबाट निर्विरोध निर्वाचित भएको उल्लेख छ ।

यद्यपि, पूर्वअध्यक्ष बद्री केसीले आफ्नो कार्यकाल बाँकी रहेको दाबी गर्दै नेतृत्वको वैधानिकतामाथि प्रश्न उठाएका छन् । सर्वोच्च अदालतले केसी नेतृत्वको कार्यसमितिलाई अवैधानिक ठहर नगरेको र श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको अवस्थामा वैधानिकताको विवाद कायमै छ । परराष्ट्र मन्त्रीले श्रेष्ठको कार्यसमितिलाई वैधानिक माने पनि केसी समूहको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिताले विवाद थप जटिल बनेको छ । सर्वोच्चमा यो विषयमा अर्को सुनुवाइ बाँकी छ ।












