काठमाडौं । साविक विजेता टिप टप हेल्प नेपालले नवौँ पिएम कप एनभिए लिगमा सानदार सुरुवात गरेको छ । पोखराको कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको हो ।

पहिलो सेट हेल्प नेपाल ३०-२८ ले बाजी मार्न सफल भयो । १-० ले पछि परेको आर्मी खेलमा फर्कन सकेन । त्यसपछि दोस्रो सेट २५-२१ र तेस्रो सेट २५-२० ले जित्दै हेल्प नेपालले सहज जित हात पार्यो ।
त्यसअघि आज भएको खेलमा पाकिस्तानी खेलाडी सम्मिलित गण्डकीले प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेशलाई ३९१ ले पराजित गर्यो । गण्डकीले २५-१५, २५-२१, २५-२२ र २५-२० ले हराउँदै कोशीलाई माथ दिन सफल भएको हो ।
त्यसअघि आज भएको पुरुषतर्फको पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हराएको थियो । एकतर्फी जित निकाल्ने क्रममा एपिएफ २५-१९,२५-१६,२५-१६ ले विजयी भएको थियो ।
त्यसअघि महिलातर्फ एभरेष्ट भलिबल क्लब र एपिएफले विजयी सुरुवात गरेका छन् । एभरेष्टले पुनरागमन जित निकाल्ने क्रममा त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराएको छ ।
पोखरा रंगशालास्थित कभर्ड हलमा पहिलो सेट २२९२५ ले गुमाएको एभरेष्टले त्यसपछि लगातार २५-१९, २५-१७,२५-१३ ले सेट आफ्नो पक्षमा पारेको हो। राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको नेतृत्वमा रहेको एभरेष्टमा ३ थाइल्याण्डका खेलाडी छन् ।
त्यसअघि एपिएफ क्लबलेकर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै एपिएफले जितबाट लिगको यात्रा सुरु गरेको हो ।एपिएफले २५-१०,२५-१०, २५-१५ को सहज जित निकालेको हो। महिलामा नेपाल पुलिस क्लब र टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबको आज खेल छैन ।
प्रतियोगितामा सहभागी बाँकी सबै टोलीले आफ्नो पहिलो खेल आज खेल्नेछन् दिनको अन्तिम खेल नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लबबीच हुनेछ ।
नेपाल भलिबल सङ्घको आयोजनामा एक साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ । सबैले एकअर्कासँग खेलेपछि अङ्क तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्ने छन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानलबाट भइरहेको छ ।











