
काठमाडौं । राजावादी आन्दोलनको हिंसात्मक प्रदर्शनमा संलग्नहरुविरुद्ध मुद्दा दर्ताको तयारी भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले गत चैत १५ गते तीनकुनेमा भएको आजगनी, तोडफोड तथा लुटपाटका घटनामा संलग्नविरुद्ध पूरक अभियोजनको तयारी गरेको हो ।
प्रहरीले लामो अनुसन्धान सकेर हिजो प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो । सरकारी वकिल काठमाडौंका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा थप विश्लेषण भइरहेको र भ्याएसम्म आज मुद्दा दर्ता हुने बताए ।
संगठित अपराधको मुद्दामा अनुसन्धान गर्न पाउने ६० दिनको अधिकतम म्याद सकिन लागेपछि चाँडो मुद्दा दर्ता गर्नुपर्ने दबाब बढेको छ । प्रहरीले ६० जनाभन्दा धेरैविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।
आन्दोलनका मुख्य नाइके दुर्गा प्रसाईंविरुद्ध कर्तव्य ज्यान, संगठित अपराध, राज्यविरुद्धको कसुर लगायत मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । त्यस्तै, रविन्द्र मिश्र र धवलशमशेर राणाविरुद्ध संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा अभियोग लगाउने तयारी छ ।
राजा फर्काउन भन्दै तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा पत्रकारसहित दुई जनाले ज्यान गुमाएका थिए । कैयौँ भौतिक संरचनामा क्षति पुगेको थियो । घटनामा संलग्न रहेको आरोपमा एक सयभन्दा धेरै पक्राउ परेकोमा ५३ जना प्रहरी हिरासतमै छन् । अरु हाजिरी जमानीमा रिहा भइसकेका छन् ।














