Logo
Logo

युरोपमा पनि बीवाइडी चम्कियो, कार बिक्रीमा टेस्लालाई जित्यो


945
Shares

काठमाडौं । चिनियाँ विद्युतीय गाडी उत्पादन कम्पनी बीवाइडीले कार बिक्रीमा युरोपमा उछिनेको छ । बीवाइडीले युरोपमा पहिलोपटक टेस्लाभन्दा बढी कार बेच्न सफल भएको हो ।

अटो बजारको मूल्य निर्धारण र बिक्रीसम्बन्धी विश्लेषण गर्ने कम्पनी जाटो डाइनामिक्सको प्रतिवेदनअनुसार अप्रिल महिनामा युरोपभरि टेस्लाले भन्दा बिवाइडीका विद्युतीय कार बढी बिक्री गरेको छ ।

अप्रिल महिनामा टेस्लाले ७ हजार १६५ वटा विद्युतीय कार बिक्री गर्दा बिवाइडीले ७ हजार २३१ वटा कार बिक्री गरेको जाटोको प्रतिवेदनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । टेस्लाको पुरानै मोडल र यसका मालिक इलन मस्कको ट्रम्पसँगको निकटताका कारण युरोपमा व्यापार खस्किँदा बिवाइडीलाई यो सफलता पाएको समाचारमा विश्लेषण गरिएको छ ।

समाचारमा जाटोका ग्लोबल विश्लेषक फिलिप म्युनजले भनेका छन्, ‘वर्षौंदेखिको टेस्लाको दबदबालाई बिवाइडीले उछिन्नु युरोपको अटो बजारमा ऐतिहासिक क्षण हो ।’ युरोपमा गत वर्षको तुलनामा विद्युतीय गाडीको माग बढेको पनि जाटोको अनुसन्धानले देखाएको छ ।

गत वर्षको अप्रिलको तुलनामा यस वर्ष विद्युतीय गाडी दर्ता २८ प्रतिशतले बढेको समाचारमा जनाइएको छ । युरोपेली संघले चिनियाँ गाडीमा कर लगाएपनि गत वर्षको तुलनामा बिवाइडीको नयाँ दर्ता ५९ प्रतिशतले बृद्धि भएकोे प्रतिवेदनले देखाएको छ । युरोप, जापान, दक्षिण कोरिया र अमेरिकामा बनेका गाडीको नयाँ दर्ता गत वर्षको तुलनामा २६ प्रतिशतले मात्रै बढेको बताइएको छ ।

ट्रम्पसँग नजिकिएर राजनीतिमा होमिएका कारण टेस्ला कम्पनीको यो वर्षको पहिलो त्रैमासमा मात्र ७१ प्रतिशत नाफा घटेको थियो । अघिल्लो वर्षको पहिलो त्रैमासमा १ अर्ब ४० करोड नाफा गरेको टेस्लाले यो वर्ष पहिलो त्रैमासाम ४० करोड ९० लाख डलरमात्रै नाफा कमाएको थियो । नाफा घटेपछि टेस्लाले सन् २०३० सम्म वार्षिक दुई करोड वटा कार उत्पादन गर्ने लक्ष्य त्यागेको छ ।

टेस्लाका मालिक इलन मस्कले अब ह्वाइट हाउसमा कम समय खर्चिने र आफ्नो मुख्य व्यवसायलाई ध्यान दिने घोषणा गरेका थिए । तर, मस्कको चामत्कारिक र सफल व्यक्तित्वले चम्किएको टेस्लाको व्यापार अहिले उनको लोकप्रियता खस्किएसँगै कम्पनी घाटा गएको समाचारमा जनाइएको छ ।

बिवाइडी लगायत चिनियाँ कम्पनीले पछिल्लो समयमा तुलनात्मक रूपमा राम्रा गाडी धेरै सस्तो लागतमा उत्पादन गर्न थालेकाले पनि टेस्ला प्रतिस्पर्धामा पछि परेको विश्लेषण गरिएको छ । युरोपको अटोबजारमा चमत्कार गरेसँगै चिनियाँ विद्युतीय गाडी कम्पनी बीवाइडी विश्वमै बढी कार उत्पादन तथा बिक्री गर्ने कम्पनी दरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्