
काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसामा शंकास्पद गतिवधि गरेको उजुरी अख्तियार पुगेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका ९ कर्मचारीको सरुवा गरेको खुलेको छ ।
गृहमन्त्री रमेश लेखकले मंगलबार प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तिर्थराज भट्टराइसहित अध्यागमनमै कार्यरत तीन नायब सुब्बा, ४ कम्प्युटर अपरेटर र एक सहायक कम्प्युटर अपरेटरको पनि सरुवा गरेका हुन् ।
सरुवा हुने तीन नायब सुब्बामध्ये प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, तथा नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ ।
त्यस्तै कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गत सरुवा गरिएको सूचीमा उल्लेख छ ।
त्यस्तै सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठको पनि कारागार व्यवस्थापन विभाग वा अन्तर्गत नै सरुवा गरिएको छ । सरुवा भएका उनीहरु सबै फरक–फरक सिफ्टमा खटाइएका थिए ।














