काठमाडौं । रियल म्याड्रिडका कप्तान लुका मोड्रिचले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेका छन् । ३९ वर्षीय क्रोएसियन मिडफिल्डरले फिफा क्लब विश्वकपपछि स्पेनिस क्लबबाट बिदा लिनेछन् । शनिबार रियल सोसिडाडविरुद्ध सान्टियागो बर्नाबेउमा हुने ला लिगाको अन्तिम खेलमा उनी अन्तिमपटक रियलको जर्सीमा मैदान उत्रनेछन् ।

“यो क्षण आउनेछ भन्ने मलाई कहिल्यै मन थिएन, तर फुटबल र जीवनमा सबैको सुरुवात र अन्त्य हुन्छ,” मोड्रिचले इन्स्टाग्राममा लेखेका छन् । सन् २०१२ मा टोटनहमबाट रियलमा आएका उनले ६ च्याम्पियन्स लिग र ४ ला लिगासहित २८ ट्रफी जितेका छन् । “रियलमा खेल्नु मेरो जीवनको सबैभन्दा ठुलो गर्व हो,” उनले भने ।
यो सिजन मोड्रिचले ला लिगामा ३४ खेलमा २ गोल र ६ असिस्ट गरेका थिए । रियल दोस्रो स्थानमा रहँदा बार्सिलोनाले उपाधि जितेको थियो । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा भने रियल आर्सनलसँग ५-१ ले पराजित भएको थियो ।
रियलले क्लब विश्वकपको अभियान जुन १८ मा साउदी अरेबियाको अल९हिलालविरुद्ध सुरु गर्नेछ । मोड्रिचको सम्झौता यो सिजनको अन्त्यसँगै सकिनेछ। प्रशिक्षक कार्लो एन्सेलोटीको पनि यो सिजन रियलसँगको अन्तिम हुने बताइएको छ । बायर लेभरकुसेनका प्रशिक्षक साबी आलोन्सोलाई उनको स्थानमा ल्याउने सम्भावना छ ।










