Logo
Logo

मानव तस्करी प्रकरण : गृह मन्त्रालयद्वारा अध्यागमनका विवादास्पद कर्मचारीहरूको सरुवा


2k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको मानव तस्करी प्रकरणमा अनुसन्धान तीव्र पारिरहेका बेला गृह मन्त्रालयले विमानस्थलको अध्यागमन कार्यालयमा कार्यरत ६ जना नायब सुब्बालाई जिम्मेवारीबाट हटाएर सरुवा गरेको छ । 

The current image has no alternative text. The file name is: Ramesh-Lekhak.jpg

भिजिट भिसा प्रकरणमा मन्त्रालय र आयोग दुवैले छानबिन गरिरहेकाले यी कर्मचारीहरूलाई मन्त्रालयमा तानिएको हो । यसअघि कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईसहित – कर्मचारीलाई सरुवा गरिएको थियो । पछिल्लो निर्णयअनुसार थप ६ कर्मचारीलाई विभिन्न जिल्ला प्रशासन कार्यालयहरूमा सरुवा गरिएको छ । सरुवा हुनेमा युवराज श्रेष्ठ (सिन्धुपाल्चोक), दत्त लामा (जाजरकोट), गोविन्दप्रसाद अधिकारी (गोरखा), तेजराज गौतम (बागलुङ), सुवास केसी (पश्चिम रुकुम), र कुवेर प्रसाद दाहाल (धनकुटा) रहेका छन् ।

यीमध्ये लामा, गौतम, र दाहालको दरबन्दी अध्यागमन विभागमा थियो भने केसीको इलाका प्रशासन कार्यालय सातविसे, नुवाकोटमा थियो । उनीहरू विमानस्थलको अध्यागमन कार्यालयमा काजमा खटिएका थिए । यी कर्मचारीहरूलाई कार्यालय प्रमुख भट्टराईले मानव तस्करीमा संलग्न ‘सेटिङ’ मा प्रयोग गरेको आशङ्कामा सरुवा गरिएको हो ।

अख्तियारले भिजिट भिसा प्रकरणमा बुधवार विमानस्थल अध्यागमन कार्यालयमा छापा मारी महत्त्वपूर्ण कागजात, कम्प्युटर, र प्रमुख भट्टराईको मोबाइल जफत गरेको थियो । भट्टराईलाई नियन्त्रणमा लिएर सोधपुछ गरिए पनि बिहीबार उपस्थित हुने सर्तमा छाडिएको छ । उनको मोबाइल भने फरेन्सिक ल्याबमा अनुसन्धानका लागि पठाइएको छ । आयोगले एक महिनादेखि यो प्रकरणमा अनुसन्धान गरिरहेको छ ।

भट्टराईले छानबिनको जानकारी पाएपछि एक दिनअघि नै सरुवाको लागि निवेदन दिएका थिए, तर रमाना नबुझ्दै आयोगले उनलाई नियन्त्रणमा लिएको थियो ।

यो प्रकरणले विमानस्थल अध्यागमन कार्यालयको संवेदनशील जिम्मेवारीमा नियुक्ति प्रक्रियामाथि प्रश्न उठाएको छ । विवादास्पद कर्मचारीहरूलाई महत्त्वपूर्ण जिम्मेवारी दिँदा मानव तस्करीजस्ता गम्भीर अपराध मौलाएको देखिन्छ । गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले यस्ता संवेदनशील ठाउँमा कर्मचारी छनोट र निगरानीमा कडाइ गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्