Logo
Logo

ज्ञानेन्द्रको कुण्डली हेर्न ज्योतिषीलाई ओलीले भने-‘मेरो कुण्डली पनि हेरिदिनु’


630
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले जनताको हकअधिकार र मुलुकको स्वाधीनता जोगाउँदै सबैखाले प्रतिगमन रोक्ने अभियानको नेतृत्व गरिरहेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले राजतन्त्र फर्कने हल्ला निराधार भएको बताए । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर राजतन्त्र फर्कने हल्ला फैलाएकोतर्फ सङ्केत गर्दै ओलीले भने, “पूर्वराजाको मात्र होइन, जनताको कुण्डली पनि हेर्नुपर्छ । ज्योतिषीहरूले मेरो कुण्डली पनि हेरे हुन्छ । नेपाली जनताले त्यागिसकेको राजतन्त्र अब फर्कँदैन। हामी प्रतिगमनविरुद्ध लड्नेहरू यहाँ छँदै छौँ। त्यस्ता सपना नदेख्न म आग्रह गर्छु ।”

प्रधानमन्त्री ओलीले एमालेमाथि आन्तरिक र बाह्य विरोधीहरूबाट निरन्तर आक्रमण भइरहेको दाबी गरे । उनले भने, “प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टर दिने जस्ता उत्ताउला कुरा पनि सुनिन्छ । म स्पष्ट भन्छु, कुनै पनि प्रतिगमनको प्रयासलाई ध्वस्त पारिनेछ। यस्ता कुचेष्टा रोक्न युवा सङ्घ अग्रपङ्क्तिमा उभिनुपर्छ ।” 

उनले एमाले सही नीति, सुशासन, र विकासका लागि काम गर्ने पार्टी भएको जिकिर गर्दै पार्टीमाथि लगाइएका झुटा आरोप र भ्रम चिर्न सबैलाई एकजुट हुन आह्वान गरे । “हाम्रा योगदानलाई बिर्साउने र नेतृत्वमाथि अनुचित लाञ्छना लगाउने प्रयास भइरहेको छ । एमालेको पक्षमा बोल्दा ‘झोले’ भन्नेहरूको भ्रममा नपर्न म सबैलाई आग्रह गर्छु,” ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्