Logo
Logo

रवि लामिछानेको बन्दी प्रत्येक्षीकरण निवेदनमाथि फैसला आउँदै 


2.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइ माग गर्दै दायर बन्दी प्रत्येक्षीकरणको निवेदनमाथि सर्वोच्च अदालतमा बहस सकिएको छ । न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले तीन दिनको सुनुवाइपछि आज शुक्रवार आदेश सुनाउने तयारी गरेको छ ।

मङ्गलवार र बिहीबार भएको बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो । शुक्रवार जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरेका थिए भने लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले जवाफी बहस गरेका थिए । यसअघि बिहीबार लामिछानेका कानुन व्यवसायी र छविलाल जोशीका वकिलसँगै सरकारी वकिलले पनि बहस सकेका थिए ।

जिल्ला अदालत रुपन्देहीले छविलाल जोशीलाई थुनामा पठाउने र रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध दुवै पक्ष उच्च अदालत बुटवल पुगेका थिए । उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश जारी गर्दा जोशीको हकमा भने जिल्ला अदालतकै आदेश सदर गरेको थियो । त्यसपछि दुवै जनाले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा छुट्टाछुट्टै निवेदन दिएका थिए ।

आदेशको पर्खाइमा सर्वोच्च अदालत परिसरबाहिर सञ्चारकर्मी, लामिछानेका शुभचिन्तक र रास्वपाका नेता–कार्यकर्ताको ठुलो भीड जम्मा भएको छ । सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै सर्वोच्चको गेटमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्