बुटवल । अविरल वर्षापछि सडक भत्किँदा शुक्रबार रातिदेखि अवरुद्ध बनेको बर्दघाट–दाउन्ने सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । शुक्रवार रातिको वर्षाका कारण सडक भत्किएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट दाउन्ने खण्ड राति ११ बजेदेखि पूर्णरूपमा अवरुद्ध भएको थियो ।

पूर्वपश्चिम जोड्ने एकमात्र सडक अवरुद्ध भएपछि पश्चिमबाट पूर्वतर्फ जाने सवारी साधन बर्दघाटमा र पूर्वबाट पश्चिमतर्फ आउने दुम्किबास क्षेत्रमा रोकिएका थिए ।
विस्तारको क्रममा रहेको सडकमा ाथिबाट पहिरो झर्ने र तलबाट भत्किएपछि शनिबार बिहानैदेखि सडक मर्मत गरेपछि सवारीसाधन आवागमन एकतर्फी सुचारु भएको प्रहरीले जनाएको छ ।
भत्किएको सडकमा ह्युमपाइप राखेर बिहान साढे १० बजेदेखि सडकमा यातायात सरू गरिएको बुटवल–नारायणगढ सडक विस्तार आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रले जानकारी दिए । उनले खुर्साने खोलानजिकै भत्किएको सडकको डिलतर्फ ह्युमपाइप राखेर एकतर्फी आवागमन सुचारु गरिएको बताए ।
इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी नायब निरीक्षक तीर्थराज भुसालले पनि सडक मर्मत गरेर अहिले एकतर्फी रूपमा सडक सुचारु गरिएको जानकारी दिए ।
दाउन्ने र बर्दघाट बजारको बिचमा पर्ने खुर्साने खोला क्षेत्रमा करिब ७ मिटर सडकको डिल भत्किएको छ भने बिस्तारको क्रममा गरिएको कालोपत्रे पनि उप्किएको छ । विगत ६ वर्षदेखि बुटवल नारायणगढ सडक खण्ड विस्तारको क्रममा रहेको छ ।














