सर्लाही । सर्लाही जिल्लाको बागमती नगरपालिका–१, पानीट्याङ्की चोक नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

बिहान करिब ८ बजे पूर्वतर्फ जाँदै गरेको बालुवा लोड टिपरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए । घाइतेहरूलाई तत्काल हरिवनस्थित नमुना अस्पतालमा पुर्याइएको थियो, जहाँबाट थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल रिफर गरिएको थियो ।
एलएस न्युरो अस्पतालमा उपचारका क्रममा बागमती नगरपालिका–६ निवासी २१ वर्षीय मोहमद कैफ मिकरानीको दिउँसो १२ बजे मृत्यु भएको चिकित्सकले पुष्टि गरेका छन् । अर्का घाइते सुमित यादवको अवस्था गम्भीर रहेको र उनको उपचार भइरहेको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।
दुर्घटनामा संलग्न टिपर घटनास्थलमै फेला परेको छ । टिपर चालक बागमती नगरपालिका–१२ निवासी ३४ वर्षीय उदव मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।