काठमाडौं । नेपाल मेडिकल कलेजले पहिलोपटक एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी इसिआरआइएस प्रविधिबाट २३ वर्षीय बिरामीको मिर्गौलाको पत्थरी सफलतापूर्वक निकालेको छ । युरोलोजी विभागले लोप्साङ पाल्देनको बायाँ मिर्गौलामा रहेको ६.९ सेन्टिमिटरको पत्थरी हटाउन यो उन्नत शल्यक्रिया गरेको हो ।

तीन साता अघि मिर्गौलामा गम्भीर समस्या र दुई महिनादेखि पिसाब पोल्ने समस्याबाट पीडित पाल्देन उपचारका लागि अस्पताल भर्ना भएका थिए । युरोलोजी विभागका कन्सल्टेन्ट डा.निरज सुवेदी र कन्सल्टेन्ट युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा.बेश अन्सारीको टोलीले इसिआरआइएस प्रविधिमार्फत शल्यक्रिया गरेको थियो । डा.अन्सारीका अनुसार, बायाँ मिर्गौलाको पेल्भिसमा रहेको ठुलो पत्थरीलाई मूत्रनली र पेटको बायाँ भागमा सानो प्वाल बनाएर एकैसाथ निकालिएको हो ।
इसिआरआइएस न्यूनतम आक्रमणकारी शल्यक्रिया प्रविधि हो, जसले ठुला र जटिल मिर्गौलाको पत्थरी (नेफ्रोलिथियासिस) हटाउन प्रयोग गरिन्छ । सामान्य पत्थरी मूत्रनली वा कम्मरको एक स्थानबाट निकालिन्छ, तर जटिल अवस्थामा मूत्रनली र कम्मर दुवैबाट एन्डोस्कोपिक विधिमार्फत पत्थरी हटाइन्छ । डा. अन्सारीका अनुसार, यो प्रविधिले ठुला पत्थरी सहजै निकाल्न सकिन्छ ।
नेपाल मेडिकल कलेजले एन्डोस्कोपिक प्रविधिमार्फत मिर्गौला र मूत्राशयको पत्थरी निकाल्ने, प्रोस्टेट र पाठेघरको शल्यक्रिया लगायतका सेवा प्रदान गर्दै आएको छ । यो सफल शल्यक्रियाले अस्पतालको उन्नत चिकित्सा सेवामा नयाँ आयाम थपेको छ ।














