काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली प्रकरणमा गृहमन्त्रालयको नाम जोडिएपछि मन्त्रालयले खण्डनसहित विज्ञप्ति जारी गर्ने तयारी गरेको छ । गृहमन्त्री रमेश लेखकले शनिवार धनुषामा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा यो विषयमा आजै विज्ञप्ति जारी गरिने बताए ।

“सामाजिक सञ्जालमा विभिन्न कुरा लेखिएका छन् । मैले केही दिन मौन बसेर यो प्रकरणको पृष्ठभूमि बुझ्ने प्रयास गरेको थिएँ,” गृहमन्त्री लेखकले भने, “मैले धेरै कुरा बुझिसकेको छु। आज धनुषाको कार्यक्रमपछि गृहमन्त्रालयले विज्ञप्ति जारी गर्नेछ । केही दिनमा म आफैँ पनि यो विषयमा बोल्नेछु ।”
उनले आफूले पार्टीको मर्यादा र इज्जतमा आँच आउने कुनै काम नगरेको दाबी गर्दै यो प्रकरणमा चिन्ता लिनुपर्ने अवस्था नरहेको बताए । “मैले राजनीतिमा कहिल्यै टाउको निहुराउने काम गरेको छैन । यदि कुनै गलत काम भएको पाइए म त्यही दिनदेखि राजनीतिबाट बाहिर हुनेछु,” उनले थपे । उनले यो विषयमा निष्पक्ष छानबिन हुने र सबै कुरा प्रष्ट हुने आश्वासन दिए ।
यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरेको छ। आयोगले अन्य कर्मचारीमाथि पनि अनुसन्धान केन्द्रित गरेको छ। शुक्रवार गृहमन्त्रालयले कम्तिमा १४ कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ, जसमध्ये अधिकांश नायब सुब्बा छन् । अख्तियारको अनुसन्धान चलिरहँदा कर्मचारी हटाउने मन्त्रालयको कदमले थप शङ्का उब्जाएको केही अधिकारीहरूले बताएका छन् ।














