डोल्पा । शनिवार दिउँसो डोल्पाको ठुलीभेरी नगरपालिका–१, ठाला लेकमा यार्सागुम्बा सङ्कलनका क्रममा दुई समूहबीच झडप भएको छ । पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठुलीभेरी नगरपालिकाका स्थानीयहरूबीच सीमा क्षेत्रको विवादका कारण झडप भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार करिब ६००–७०० जनाको सङ्ख्यामा रहेका दुई समूहबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा खटिएको टोलीले २ राउन्ड हवाई फायर गरेको थियो । हाल ठाला लेकको अवस्था सामान्य रहेको छ ।
यार्सागुम्बा सङ्कलनका लागि उच्च हिमाली क्षेत्रमा स्थानीयहरूबीच सीमा विवादका कारण यस्ता घटना बारम्बार हुने गरेका छन् । प्रहरीले थप तनाव रोक्न र शान्ति कायम गर्न आवश्यक पहल गरिरहेको जनाएको छ ।














