काठमाडौं । वित्तीय प्रणालीमा तरलता भएपछि नेपाल राष्ट्र बैंकले सातामै तेस्रोपटक निक्षेप खिच्दैछ । स्थायी निक्षेपमार्फत तरलता व्यवस्थापन नभएपछि यो साता राष्ट्र बैंकले तीनपटकसम्म निक्षेप तरलता खिच्ने गरेको हो ।

राष्ट्र बैंकले गत सातामात्रै दुईपटक निक्षेप संकलन गरेको थियो । २१ दिनको अवधिमा आइतबार फेरि ३० अर्ब निक्षेप संकलन जारी गरेको छ । वैशाख मध्यमा केन्द्रीय बैंकले एक साता अवधिको ३ पटकसम्म निक्षेप संकलन उपकरण प्रयोग गरेको थियो ।
यसभन्दा अघिको २७ अर्ब ५० करोडको निक्षेप संकलन परिपक्व भएसँगै वित्तीय प्रणालीमा करिब ९१ अर्बको तरलता भएपछि केन्द्रीय बैंकले निक्षेप संकलन प्रयोग गरेको हो ।
आइतबारसम्म बैंक तथा वित्तीय संस्थामा अधिक भएको तरलता स्थायी निक्षेप तथा निक्षेप संकलनमार्फत कुल ३ खर्ब ६२ अर्ब केन्द्रीय बैंकमा राखेका छन् । यो रकममध्ये निक्षेप संकलन उपकरणको १ खर्ब ९० अर्ब र स्थायी निक्षेपको १ खर्ब ७२ अर्ब ७५ करोड रुपैयाँ छ ।
स्थायी निक्षेपमार्फत केन्द्रीय बैंकमा रहेको अधिक तरलता ३ दिनका लागि प्रणालीबाट केन्द्रीय बैंकमा रहन्छ । निक्षेप संकलन उपकरणमार्फत केन्द्रीय बैंकमा गएको पैसा २१ दिनका लागि ‘होल्ड’ हुन्छ ।
स्थायी निक्षेपमार्फत केन्द्रीय बैंकमा पैसा राख्दा बैक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदर पाउँछन् । तर, निक्षेप संकलन उपकरणको ब्याजदर भने बोलकबोलमार्फत निर्धारण हुन्छ । ८ जेठमा निक्षेप संकलनको औसत ब्याजदर २.९९५८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।














