काठमाडौं । सहकारी ठगीका पीडितहरूले आफ्नो बचत रकम फिर्ताको माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् । सरकारले बारम्बारको शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरेको भन्दै बाध्य भएर यो कदम चाल्नुपरेको पीडितहरूको गुनासो छ ।

यसअघि महिलाहरूले यस्तै प्रदर्शन गरेका थिए भने आज पुरुष बचतकर्ताहरू अर्धनग्न अवस्थामा सडकमा उत्रिएका हुन् । उनीहरूले सरकारले सहकारीको सम्पत्ति लिलामी गरेर भए पनि बचत रकम फिर्ता गर्नुपर्ने माग राखेका छन् । आफूहरूलाई नाङ्गो हुनु रहर नभएको तर, बाध्यताले यो अवस्थानमा ल्याएको उनीहरूको गुनासो छ । उनीहरूले सरकारले माग पूरा नगरे अझ नाङ्गो हुन तयार रहेको बताए ।
सहकारी पीडित बचतकर्ता महासङ्घको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरूले ‘सहकारीको प्रस्ताव तुरुन्त कार्यान्वयन गर’, ‘बिचौलियामार्फत जग्गा सेटलमेन्टको नाममा ठगी बन्द गर’, ‘कोष खडा गरेर बचत फिर्ता गर’ जस्ता प्लेकार्ड बोकेका थिए । उनीहरूले बिचौलियाहरूले १० लाखको जग्गालाई ४० लाखमा बिक्री गरी पीडितहरूलाई थप शोषण गरेको आरोप लगाए ।