Logo
Logo

नेपालमा कोरोना : १९ हजार ७७१ संक्रमित, ५६ जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ साउन । नेपालमा शुक्रबार थप २२४ जनामा कोरोना देखिएको छ । योससँगै नेपालमा कोभिड–१९ बाट संक्रमितको सख्या १९ हजार ७७१ पुगेको छ ।
कोभिड–१९ बाट संक्रमणमुक्त भई घर फर्किनेको संख्या ७२.८ प्रतिशत छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा सबैभन्दा धेरै पर्सामा ४१ जना संक्रमित थपिएका छन् ।
यस्तै काठमाडौंमा ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५/ १५ जना, झापाका १३ र बैतडीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बारामा चार, रौतहट, कास्की, दाङ र डोटीका तीन/तीन जना, नुवाकोट, नवलपुर, म्याग्दी, गुल्मी र दैलेखका दुई/दुई जना तथा रुपन्देही, भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही सप्तरी, तनहुँ, र बाँकेका एक/एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयले गर्ने कोभिड–१९ बारे नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको बताए । मृतक सबै वीरगञ्जका हुन् भने उनीहरुमध्ये तीन जनाको वीरगञ्जमा र एक जनाको पाटन अस्पतालमा मृत्यु भएको हो । यससँगै कोरोना संख्मणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
सक्रिय संक्रमित पाँच हजार ३१६ छन् । प्रदेश १ मा २२२, प्रदेश २ मा दुई हजार ३४, वाग्मती प्रदेशमा ५७२, गण्डकी प्रदेशमा ३२४, प्रदेश ५ मा ३८५, कर्णाली प्रदेशमा २९६ र सुदूरपश्चिम प्रदेशमा एक हजार ४८३ छन् । नेपालमा कोभिड–१९ पिसिआर परीक्षण प्रति १० लाख जनसंख्यामा १२ हजार ७८८ र १० लाख जनसङ्ख्यामा मृत्युको दर १.९ छ । शुक्रबारको १० हजार ७६८ सहित जम्मा तीन लाख ७५ हजार ४१६ पीसीआर परीक्षण भएको छ । क्वारेन्टिनमा रहनुभएका व्यक्तिको संख्या १२ हजार १११ छ । कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १५१ छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ३९९ छन् । भोजपुर, संखवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङ गरी ६ जिल्लामा कोभिड–१९ संक्रमण शून्य छ ।
कतिपय नाकामा पनि नियन्त्रण नभएको उनको भनाइ छ । उनले भारतबाट कामदार नेपाल ल्याएर ओखलढुंगा पु¥याएको र २१ जना कामदारमध्ये १८ जनामा कोरोना पुष्टि भएको तथ्य प्रस्तुत गरे । पछिल्लो समयमा समूहमा बस्नेमा बढी कोभिड–१९ देखापरेको बताउँदै जसको उदाहरण प्रहरी र स्वास्थ्यकर्मीमा कोभिड–१९ पोजेटिभ आएको बताए । अहिलेसम्म माक्सको प्रयोग नगर्ने दुई लाख जनालाई सरकारले कारवाही गरिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनिवार्यरुपमा सबैमा माक्स लगाउन पनि आग्रह गरेको छ ।
हालसम्म संसारभरी एक करोड ७४ लाख ७९ हजार ६२३ जना व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका छन् । ६ लाख ७७ हजार १८ जना व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको छ । हालसम्म कोभिडबाट निको हुनेको संख्या एक करोड ९ लाख ५१ हजार ९८० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्