काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग भएको नौ बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबारको प्रतिनिधिसभा शिक्षा समिति बैठकमा उनले आगामी बजेटमा यो सहमति सम्बोधन गर्न वार्ता भइरहेको बताए ।

“शिक्षक महासङ्घसँग निरन्तर छलफलमा छौँ । सरकार आर्थिक दबाबमा छ, तर नौ बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छ,” मन्त्री पन्तले भने । उनले सहमतिको कानुनी रूप दिने विषयमा महासङ्घसँग छलफल जारी रहेको र आगामी ७–८ दिनभित्र सहमतिमा पुग्ने विश्वास व्यक्त गरे ।
मन्त्री पन्तले शिक्षकका माग सम्बोधन गर्दा आर्थिक भार पर्ने भएकाले शिक्षा मन्त्रालय एक्लैले निर्णय गर्न नसक्ने बताए । उनले आगामी छलफलमा अर्थ मन्त्रालयका प्रतिनिधिहरूलाई समावेश गर्न समितिलाई सुझाए । “आर्थिक भारको विषय छ । अबको बैठकमा अर्थमन्त्री, सचिव वा अर्थ मन्त्रालयका कर्मचारीलाई बोलाउनुपर्छ,” उनले भने ।
शिक्षक महासङ्घसँगको सहमति शिक्षा विधेयकमा समेट्ने विषयमा सरकार लचिलो रहेको उनको भनाइ छ । यो प्रक्रियाले शिक्षकका माग सम्बोधनमा ठोस प्रगति हुने अपेक्षा गरिएको छ ।