काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ । आइतबार दिउँसो बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको राजीनामा स्वीकार गर्ने निर्णय गरेको हो ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बैठकमा सहमहामन्त्री श्रेष्ठले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा सर्वसम्मतिले स्वीकृत भएको जानकारी दिए । श्रेष्ठले पार्टीको सङ्गठनात्मक गतिविधिमा सक्रिय रहँदै आए पनि पछिल्लो समय व्यक्तिगत व्यस्तताका कारण सहमहामन्त्रीको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको बताएका छन् ।
श्रेष्ठले आफू संसदीय भूमिकामा मात्रै सक्रिय हुन चाहेको भन्दै गत चैत १८ गते सहमहामन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनले पार्टीमा ‘एक व्यक्ति एक पद लागू हुनुपर्ने तथा एक व्यक्तिले दुई पूर्णकालीन जिम्मेवारीलाई न्याय गर्न सक्दैन’ भन्दै राजीनामा दिएकी थिइन् । साथै उनले पार्टीमाथि जनताको ठूलो आश, डेलिभरी दिने क्षमता शून्य’, धेरै कर्मकाण्डी प्रक्रिया’, पदाधिकारीसँग सल्लाह नगरी महत्त्वपूर्ण’ लगायत धारणा–असुन्तुष्टि पनि राजीनामा पत्रमा समावेश गरेकी थिइन् ।