काठमाडौं । नेकपा एमालेले आफ्नो भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरेको छ । आइतबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो । उमेर हद लागू भएसँगै सचिवभन्दा माथिका सबै पदाधिकारी सङ्गठनबाट बाहिरिनेछन् ।

यो निर्णयले नेतृत्वका दाबेदार उपाध्यक्षहरू धर्म गिरी, मर्यादा बिष्ट, नारायण घर्ती र गोविन्द गिरी उमेर हदका कारण बाहिरिनेछन् । त्यस्तै, अध्यक्ष पदका बलिया दाबेदार महासचिव नरेश रोकाया पनि सङ्गठन छाड्नुपर्नेछ । सचिवहरू मनोज ताम्ली, सञ्जीव धिताल, आशिर्वाद सुवेदी र विनिता काफ्ले पनि उमेर हदका कारण बाहिरिने भएका छन् ।
तर, ३२ वर्ष नकटेका सचिवहरू दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई र अञ्जना सिवाकोटीले नेतृत्वमा दाबी गर्न सक्नेछन्, जसले उनीहरूलाई स्वाभाविक दाबेदार बनाएको छ । अनेरास्ववियुको आगामी महाधिवेशन २५–२८ जेठमा कीर्तिपुरमा हुँदै छ । यो महाधिवेशनबाटै उमेर हद लागू गर्ने निर्णय भएको हो।














