काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको अहिले जनसंगठन पदाधिकारीहरुको बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ । भर्खरै सुरु भएको बैठकमा जेठ १५ गते आयोजना गर्ने जनप्रदर्शनको तयारीबारे छलफल भइरहेको बताइएको छ ।

जारी बैठकमा प्रदर्शनका दिन बढीभन्दा बढी सहभागिता जुटाउने रणनीतिमा छलफल भइरहेको एक नेताले बताए । आइतबार बसेको सचिवालय बैठकले गणतन्त्र दिवसलाई देशभर उत्सवका रूपमा मनाउने निर्णय गरेको थियो ।
गणतन्त्र दिवशकै दिन राप्रपा लगायत राजावादीले प्रदर्शन गर्दैछन् । त्यसैलाई यान दिएर एमालेले ‘काउन्टर’ प्रदर्शनको तयारी थालेको छ ।
च्यासलमा जारी बैठकमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव लेखराज भट्ट, योगेश भट्टराई, पद्मा अर्याल लगायतका नेताहरुको उपस्थित छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादीको आन्दोलन निस्तेज पार्न आइतबार ‘जेठ १५ गते बिहान ११ देखि अपरान्ह २ बजेसम्म काठमाडौंलाई नियन्त्रणमा लिन’ पार्टी पंक्तिलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । यसैबेला एमालेले राजावादीको प्रदर्शनलाई काउन्टर दिन तयारी थालेको हो ।














