Logo
Logo

गाजामा इजरायली हवाई आक्रमण : एक पत्रकारसहित ३० जनाको मृत्यु


756
Shares

काठमाडौं । गाजा क्षेत्रमा इजरायलले हवाइ आक्रमण तिव्र बनाएको छ । आइतबार इजरायलले गाजामा गरेको हवाई आक्रमणमा कम्तिमा ३० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

इजरायलले आइतबार गाजापट्टिको जबालिया क्षेत्रमा हवाई आक्रमण गरेको थियो । सो आक्रमणमा परी एक पत्रकारसहित कम्तिमा ३० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेहरुमा पत्रकारका अलावा उद्धारकर्मीहरु समेत रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

रोयटर्सका अनुसार स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकार हसन मज्दी अबु वार्दाको मृत्यु भएको छ । नुसेरातमा भएको अर्को हवाई आक्रमणमा त्यस क्षेत्रको नागरिक आपतकालीन सेवाका एक वरिष्ठ अधिकारी अशरफ अबु नार र उनकी श्रीमतीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

इजरायली सेनाका चिफ अफ स्टाफ इयाल जामिरले आइतबार खान युनिसमा इसराइली सैनिकहरूलाई भेटेर गजाको युद्ध अनन्त नभएको बताएका थिए । उनले हमासका कमान्ड सेन्टर अधिकांश ध्वस्त पारिएको उनले बताएका थिए ।

इजरायलको हवाई हमलापश्चात अन्तर्राष्ट्रिय रेड क्रस सोसाइटीले विज्ञप्ती जारी गर्दै आफ्ना दुई अधिकारी मारिएको जनाएको छ । गाजामा ठूलो संख्यामा नागरिकहरू मारिएको र यस्तो अवस्थालाई अन्त्य गर्न तत्काल युद्धविराको विकल्प नरहेको रेड क्रसले भनेको छ ।

गाजाबाट सञ्चालित मिडियाहरूले गजापट्टिका ७७ प्रतिशत भूभाग इजरायली सेनाले कब्जा गरेको उल्लेख गरेका छन् । उनीहरुले जमिनबाट पनि बमबारी गर्दै घरहरू ध्वस्त पारेको र त्यहाँबाट मानिसहरूलाई विस्थापित गरेको बताएका छन् ।
हमास र इस्लामिक जिहादको सशस्त्र शाखाले आइतबार छुट्टाछुट्टै विज्ञप्ति निकालेर गजाका धेरै क्षेत्रहरूमा कार्यरत इजरायली सेनाविरुद्ध बम र ट्याङ्क विरोधी रकेट आक्रमण गरिएको बताएको छ ।

गजामा युद्धविरामका लागि पहल भइरहेको भए पनि ठोस परिणाम आउन सकेको छैन । यसअघि ४२ दिने युद्धविरामताका एक सयको हाराहारीमा बन्धकहरूलाई हमासले रिहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्