काठमाडौं । कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको आरोपमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नगर प्रहरी प्रमुख धामी, उनका सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र नगर प्रहरी हवल्दार मणिदत्त भट्ट रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार धामीलाई कञ्चनपुरको झलारीबाट र अन्य तीन जनालाई धनगढीबाट सोमबार बिहान पक्राउ गरिएको हो । भन्सार प्रमुख तिमिल्सिनाले अभद्र व्यवहारको किटानी जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।
घटना शनिवार राति कैलाली भन्सार कार्यालयभित्र भएको थियो, जहाँ प्रहरी निरीक्षक धामीसहितका नगर प्रहरीले भन्सार प्रमुख तिमिल्सिनामाथि कुटपिट गरेका थिए । कुटपिटको दृश्य समेटिएको सीसीटीभी फुटेज सार्वजनिक भइसकेको छ । धनगढी उपमहानगरपालिकाले नगर प्रहरी निरीक्षक धामीलाई २४ घण्टे स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया सुरु गरिसकेको छ ।