काठमाडौं । तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग बयान लिन सुरु गरिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा दुर्गा प्रसाईँसहित ५० जना प्रतिवादीको बयान र थुनछेक बहस चलिरहेको छ ।

उनीहरूमाथि राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको छ । यसैगरी, भाटभटेनी लुटपाटमा संलग्न ११ जनाको बयान र थुनछेक बहस न्यायाधीश पदमराज पाण्डेको इजलासमा भइरहेको छ । सरकारी वकिलले यी प्रतिवादीहरूलाई आपराधिक उपद्रवको कसुरमा अभियोजन गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन जेठ ९ गते जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो।
१५ चैतमा राजावादी समूहले गरेको प्रदर्शनले हिंसात्मक रूप लिँदा २ जनाको मृत्यु भएको थियो भने २० जनालाई प्रहरीको गोली लागेको थियो । दर्जनौँ घाइते भएका थिए ।














