काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यपालिका सदस्यहरूले तत्काल बैठक बोलाउन मेयर बालेन्द्र शाह (बालेन) सँग माग गरेका छन् । सोमबार उपमेयर सुनिता डंगोलसहित ४१ जना कार्यपालिका सदस्यहरूले मेयर शाहलाई पत्र लेख्दै यथाशीघ्र बैठक राख्न आग्रह गरेका हुन् ।

महानगरपालिकाको कार्यपालिका बैठक गत पुस महिनायता बस्न सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १७ को उपदफा १ मा ‘कार्यपालिकाको बैठक कम्तीमा महिनामा एकपटक बस्नेछ’ भन्ने प्रावधान छ । तर, विगत ६ महिनादेखि बैठक नबस्दा विकास निर्माण, नीतिगत निर्णयलगायत महत्त्वपूर्ण कार्यहरू अन्योलमा परेका छन् ।
कार्यपालिका सदस्यहरूले मेयर शाहले बैठक नबोलाउँदा आगामी आर्थिक वर्षको बजेट ल्याउने विषयमा समेत अनिश्चितता बढेको बताएका छन् । उनीहरूले मेयरलाई बैठक बोलाउन बारम्बार आग्रह गर्दै आएको जनाएका छन् । साथै, जनप्रतिनिधि र जनताले मेयरलाई भेट्न खोज्दा सम्पर्कमा नआउने र सामाजिक सञ्जालको स्टाटसमार्फत मात्र उनको गतिविधिबारे जानकारी पाइने गुनासो गरेका छन् ।
कार्यपालिका सदस्यहरूले मेयर शाहलाई तत्काल बैठक बोलाएर बजेट निर्माण र विकास कार्यलाई तीव्रता दिन दबाब दिँदै आएका छन् ।

















