काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिमा दफाबार छलफलमा रहेको बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० जस्ताको तस्तै पारित भए बैङ्किङ क्षेत्र दुर्घटनामा पर्ने निजी क्षेत्रका प्रतिनिधिहरूले चेतावनी दिएका छन् । सोमबारको अर्थ समिति बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरूले विधेयकमा प्रस्तावित व्यवसायी र बैङ्कर छुट्याउने व्यवस्था र सम्बद्ध व्यक्तिको परिभाषाले व्यवसायमा गम्भीर असर पर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विधेयकले बैङ्कमा एक प्रतिशतभन्दा बढी सेयर भएका व्यक्तिलाई ऋण नदिने व्यवस्था लागू भएमा व्यवसायीहरूले सेयर बिक्री गर्नुपर्ने वा ऋण तिर्नुपर्ने अवस्था आउने र यसले ठुलो सङ्कट निम्त्याउने चेतावनी दिए । उनले भने, “यो व्यवस्थाले आर्थिक गतिविधिमा ‘ब्रेक’ लाग्छ, जुन ‘डिजास्टर’ हुनेछ ।” ढकालले अहिलेको सम्बद्ध व्यक्तिको परिभाषा पर्याप्त रहेको र विधेयकको मस्यौदा गम्भीर अध्ययनबिना आएको जस्तो देखिएको बताए ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले बैङ्करको प्रमोटर सेयर बिक्री गर्न सकिने व्यवस्था विधेयकमा समावेश गर्नुपर्ने माग राखे । उनले भने, “एक प्रतिशतभन्दा बढी सेयर हुनेले ऋण लिन नपाउने व्यवस्थाले बैङ्किङ क्षेत्रमा सङ्कट आउँछ। प्रमोटर शेयरलाई बजार मूल्यमा बिक्री गर्ने सुविधा आवश्यक छ ।”
बैङ्किङ विज्ञ अनलराज भट्टराईले विधेयकको परिवारको परिभाषा पुरानो भएको र यसले उद्यमशीलता तथा रोजगारी सिर्जनामा अवरोध गर्ने बताए । उनले सम्बद्ध व्यक्तिको परिभाषा पुनर्लेखन गर्न र विवादित दफालाई होल्ड गरी बाँकीलाई अगाडि बढाउन सुझाए । विषय विज्ञ भुवन दाहालले स्वतन्त्र सञ्चालकको बहुमत हुने व्यवस्था लागू भएमा धेरै समस्या समाधान हुने धारणा राखे ।
सरकारले गत फागुन १२ मा बाफियाका ३० दफा संशोधन गर्न विधेयक दर्ता गरेको थियो । निजी क्षेत्रले यो विधेयकले आर्थिक वृद्धिमा बाधा पुग्ने चेतावनी दिएको छ ।