काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८१/८२ को प्रादेशिक कुल गार्हस्थ उत्पादन (जीडीपी)को विवरण सार्वजनिक गरेको छ । सोमबार सातवटै प्रदेशको प्रादेशिक जीडीपी एकैसाथ सार्वजनिक गरिएको हो ।

प्रकाशित तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को प्रारम्भिक अनुमानमा उपभोक्ता मूल्यमा प्रादेशिक जीडीपी वृद्धिदर सबैभन्दा उच्च गण्डकी प्रदेशमा ५.५१ प्रतिशत र दोस्रोमा बागमती प्रदेशमा ५.१८ प्रतिशत रहने अनुमान छ । यस्तै, सबैभन्दा कम वृद्धिदर सुदूरपश्चिम प्रदेशमा ३.३२ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । स्थिर मूल्यमा मापन गरिएको राष्ट्रिय जीडीपी वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान छ । जसमध्ये गण्डकी, बागमती, कर्णाली र लुम्बिनी प्रदेशको वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि र बाँकी प्रदेशको औसतभन्दा तल रहने प्रारम्भिक अनुमान छ ।
आर्थिक वर्ष २०७९/८० को अन्तिम तथ्याङ्क, आर्थिक वर्ष २०८०/८१ को संशोधित अनुमान र आर्थिक वर्ष २०८१/८२ को प्रारम्भिक अनुमानअनुसार सो अवधिमा सबै प्रदेशको आर्थिक वृद्धिदर क्रमिक रूपमा बढ्दै गएको देखिन्छ । तर, आर्थिक वर्ष २०८०/८१ देखि २०८१/८२ सम्म कोशी र सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर नगण्य रूपमा मात्र बढेको तथ्याङ्कले देखाउँछ ।