फिदिम । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी कार्यकर्ताहरूलाई नेताको झोला बोकेर मात्र नहुने भन्दै स्वाभिमानी बन्न आग्रह गरेका छन् । पाँचथरको फालेलुङमा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कार्यकर्ताहरूलाई सक्षम नेतृत्वको रूपमा स्थापित हुनुपर्ने बताए ।

“नेपाली कांग्रेसका कार्यकर्ताले नेताको झोला बोकेर वा उनीहरूको पछि दौडिएर मात्र पुग्दैन,” कोइरालाले भने, “कार्यकर्ताहरू स्वाभिमानी बन्नुपर्छ । आफूलाई सक्षम नेतृत्वको रूपमा उभ्याउनुपर्छ । नेताको मन जित्ने होइन, जनताको मन जित्ने काम गर्नुपर्छ ।”
फालेलुङ गाउँपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जथाभाबी बोल्ने गरेको आरोप लगाए । “प्रधानमन्त्री ओलीले जथाभाबी बोलिरहनुभएको छ,” उनले भने, “प्रधानमन्त्रीले एमाले कार्यकर्तालाई काठमाडौं कब्जा गर्न निर्देशन दिनु गलत छ ।”
आइतबार नेकपा एमाले बागमती प्रदेश कमिटीको कार्यक्रममा ओलीले जेठ १५ गते काठमाडौंलाई एमालेको कब्जामा राख्ने निर्देशन दिएका थिए । सोही दिन राजावादीहरूले पनि काठमाडौंकेन्द्रित आन्दोलनको घोषणा गरेका छन् । कोइरालाले प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले देशलाई मुठभेडतर्फ धकेलिरहेको बताए ।














