
काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरण भ्रष्टाचारको मात्रै नभइ मानव तस्करीको बिषय भएकाले गम्भीर भएर छानविन हुनुपर्ने बताएका छन् ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पराजुलीले मानव तस्करी भइरहेको उजुरीको अनुसन्धान नगरेर गृह प्रशासनले त्यसलाई प्रश्रय दिएको आरोप समेत लगाए ।
अध्यागमनबाट भिजिट भिसामार्फत नेपालीहरुलाई बेच्ने प्रकरणमा राज्यको निकायहरु नै जोडिएकाले गृहमन्त्री रमेश लेखकको राजीनामा केवल नैतिकताको बिषयमात्रै हुन नसक्ने उनले बताए ।
सांसद पराजुलीले भिजिट भिसामार्फत मानवतस्करीको बिषयमा अख्तियारले छानविन प्रक्रिया अघि बढाएर अध्यागमनका कर्मचारीलाई पक्राउ गर्न खोज्दा गृह मन्त्रालयले दोषि देखिएका कर्मचारीलाई बचाउनका लागि रातारात सरुवा गर्ने काम गरेको आरोप लगाए ।
गृहमन्त्री लेखकलाई दोषिसंग जोडेर हेर्ने शंकाको दायरा फराकिलो भएकाले राजीनामा दिन लगाएर अनुसन्धानको घेरामा ल्याउनुपर्ने उनले बताए ।
पराजुलीले उक्त प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गरेर सत्यतथ्य छानविन गर्ने र दोषिलाई कडा कारवाही हुनुपर्ने धारणा राखे ।











