काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरेका छन् । मङ्गलवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद खतिवडाले भने “के हरेक उजुरीमा मन्त्रीहरूले राजीनामा दिने हो ?”

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बताउँदै दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
“कर्मचारीमाथि निष्पक्ष छानबिन हुन दिनुपर्छ । गल्ती गर्ने जोसुकै होस्, कारबाहीको दायरामा आउनुपर्छ । तर, अनुसन्धानकै आधारमा गृहमन्त्रीलाई राजीनामा माग्नु पूर्वाग्रह हो,” उनले भने ।
गृहमन्त्रालय मातहतका हजारौँ कर्मचारीमाथि अनुसन्धान भइरहेको उल्लेख गर्दै खतिवडाले मातहतका कर्मचारीमाथि उजुरी पर्दैमा मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने परम्परा उचित नहुने तर्क गरे । “अख्तियारमा हरेक कार्यालयमा उजुरी लेख्न र जवाफ दिन एक–एक कर्मचारी खटाइएको छ । उजुरी परेकै आधारमा राजीनामा माग्नु ठिक होइन,” उनले भने ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहितका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग राखेर संसद् अवरुद्ध गरेका छन् ।














