Logo
Logo

भारतमा कोरोना संक्रमित बढ्दै, १२ जनाको मृत्यु


1.3k
Shares

काठमाडौं । पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार उत्तर प्रदेशको फिरोजाबादमा ७८ वर्षीय कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

उत्तर प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट भएको यो पहिलो मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । साथै, महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा गरी थप ११ जनाको मृत्यु भइसकेको छ । कुल मृतक संख्या १२ पुगेको भारतीय मिडिया भास्कर दैनिकले जनाएको छ ।

समाचारमा बनाइएअनुसार भारतमा पछिल्लो समय सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ । जसमध्ये मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन् । सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय संक्रमित केरल राज्यमा देखिएका छन् । गुजरातमा १३ जना संक्रमित निको भएका छन् ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर)का निर्देशक डा. राजीव बहलका अनुसार हालसम्म भारतमा एलएफ.सेभेन, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ गरी चार नयाँ कोरोना भेरियन्ट देखिएका छन् । तीमध्ये केही दक्षिण र पश्चिम भारतका नमूनाहरूको जीन अनुक्रमणबाट पत्ता लागेका हुन् ।

भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले हालको अवस्था गम्भीर छैन, तर सावधानी अपनाउनु आवश्यक रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनले पनि यी भेरियन्टलाई ‘चिन्ताजनक’ नभई ‘निगरानी योग्य’ श्रेणीमा राखेको छ ।

जेएन.१ भारतमा सबैभन्दा धेरै भेटिएको भेरियन्ट हो । परीक्षण गरिएका आधा भन्दा बढी नमूनामा यही भेरियन्ट भेटिएको छ । यसपछि बीए.२ २६ प्रतिशत र ओमिक्रोनको अन्य उप–प्रकार २० प्रतिशत देखापरेका छन् । जेएन.१ ओमिक्रोनको बीए.२.८६ भेरियन्टको स्ट्रेन हो । यो पहिलोपटक अगस्त २०२३ मा देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्