
काठमाडौं । गभर्नर विश्वनाथ पौडेलविरुद्धको रिट न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ हुँदैछ ।
अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले गभर्नर नियुक्ति बदरको माग गर्दै दायर गरेको रिट सोमबार सर्वोच्च अदालतमा दर्ता भएपछि आज सुनुवाइका लागि न्यायाधीश मुसलमानको इजलासमा पेसी तोकिएको हो ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको रिटमा दाबी गरिएको छ । पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथसमेत गराउने निर्णय गैरकानुनी भएको जिकिर गरिएको छ ।
नेपालको संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषणको आदेशले बदर गरी नोटमा हस्ताक्षर गर्ने लगायतका गम्भीर राष्ट्रिय महत्त्वको विषयमा राष्ट्रलाई नै असर पर्ने गरी गभर्नरको हैसियतले कुनै पनि दूरगामी कार्य सम्पादन नगर्न नगराउन प्रतिषेध मिश्रित परमादेशको आदेश माग अधिवक्ताहरूले गरेका छन् ।














