
काठमाडौं । भोलि (बिहीबार) जेठ १५ अर्थात गणतन्त्र दिवस । उक्त दिन काठमाडौंमा दुई शक्ति आमनेसामने हुँदैछन् । ती शक्ति हुन् राजसंस्था पक्षधर र सत्तारुढ नेकपा एमाले । एमाले जिल्ला प्रशासन कार्यालयबाट काठमाडौंको टुँडिखेल वरिपरि कार्यक्रम गर्न अनुमति पाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार एमालेले टुँडिखेल आसपासका सुन्धारा, भृकुटीमण्डप, रत्नपार्क लगायतका क्षेत्रका सांस्कृतिक कार्यक्रमहरू गर्न भनेर अनुमति लिएको छ ।
गणतन्त्र दिवसकै दिनबाट राजावादीहरूको संयुक्त मोर्चाले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दैछ । नवराज सुबेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले घोषणा गरेको संयुक्त जनआन्दोलन काठमाडौं केन्द्रित हुनेछ । तर, समितिले अहिलेसम्म कुनै पनि ठाउँमा प्रदर्शन गर्नका लागि अनुमति मागेको छैन ।
राजावादीहरूले भोलिबाट हुने आन्दोलन व्यवस्था उल्टाउने जनविद्रोह भएकाले अनुमति लिइराख्नु नपर्ने बताएका छन् । यद्यपि, प्रशासनलाई जानकारी भने गराइने राप्रपा नेपालका एक प्रवक्ता राजाराम बर्तौला बताउँछन् ।
संयुक्त जनआन्दोलन समितिले यसअघि नै रत्नपार्कबाट आन्दोलन सुरु गर्ने घोषणा गरिसकेको छ । गत शनिवार आयोजित जागरण सभामा १५ गते दिउँसो १२ बजे रत्नपार्कमा भेला हुन आह्वान गरिएको थियो । तर, सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै राजावादीलाई रिङरोडभित्र कार्यक्रम गर्न नदिने प्रशासनको रणनीति छ ।