काठमाडौं । गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउने भन्दै नेकपा एमालेले जेठ १५ गते अर्थात् बिहीबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना गर्दै छ ।
सोही सभालाई लक्षित गरी एमालेले बुधबार पार्टी कार्यालय च्यासलमा स्वयंसेवकहरूलाई प्रशिक्षण दिएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते एमाले कार्यकर्तालाई ‘काठमाडौं कब्जा’ गर्न निर्देशन दिएका छन् । सोही अनुसार एमालेले स्वयंसेवकहरूलाई प्रशिक्षण दिएको हो ।

प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्नेलगायतका अभिव्यक्ति दिएका थिए । राजावादीहरूले पनि १५ जेठमा काठमाडौं केन्द्रित आन्दोलन गर्दैछन् । सोही आन्दोलनलाई निस्तेज पार्न गरी ओलीले ‘काठमाडौं कब्जा गर्न’ निर्देशन दिएका थिए ।
ओलीको उक्त अभिव्यक्तिपछि एमालेले जेठ १५ गते गर्न लागेको कार्यक्रम कसैको विरोधमा नभई जनताको उपलब्धिको खुसीयाली प्रकट गर्ने समारोह रहेको बताएको छ ।














