काठमाडौं । काठमाडौंको महाबौद्धस्थित ‘आकार कम्प्लेक्स प्रालि’ नामक व्यापारिक केन्द्रका सञ्चालक आकाश राजभण्डारीले आफ्नै परिवारको मिलेमतोमा व्यापारिक साझेदार अशोक राजभण्डारीलाई ठगी गरेको रहस्य खुलेको छ।
आकाशले आफ्ना बुवा आनन्दप्रकाश र बहिनी आयसाको प्रयोग गरी अशोकलाई ‘घर न घाट’को अवस्थामा पुर्याएका छन् । विडम्बनापूर्ण त के भने आकाशलाई यही कम्प्लेक्समा ल्याउने व्यक्ति अशोक स्वयं थिए ।

अत्यन्त विश्वास गरेर व्यापारमा साझेदारी गरिएका अशोक आज आफू ठगिएको बताउँछन् । उनका अनुसार परिवारसहित आकाशले मिलेमतो गरी करिब १८ करोड ९५ लाख रुपैयाँ बराबरको सम्पत्ति हडपेका छन् ।
अशोकले आकाशकै कारण आफ्नो ज्यान समेत जोखिममा परेको बताएका छन् । उनी भन्छन्, ‘गुण्डा लगाएर हामी कम्प्लेक्स गएका बेला कुटपिट गरे। पैसा उठाएर जबरजस्ती घर ल गे। अहिले पनि उनीहरूले गुण्डा प्रयोग गरिरहेका छन् । हाम्रो सुरक्षामा गम्भीर खतरा छ ।’
अशोक अहिले आफ्नै कम्प्लेक्सबाट निष्कासित भएका छन् । अदालत र प्रहरी प्रशासन धाउँदै थाकिसकेका उनी निराश छन् । बाँकी दुई शेयरधनीहरू पनि तनावमा छन् ।
शेयर हेरफेर र षड्यन्त्रको सुरूआत
२०७२ मा अशोकले महाबौद्धमा आकार कम्प्लेक्स स्थापना गरेका थिए । साझेदारका रूपमा उनीसँगै राजेश श्रेष्ठ (भक्तपुर), आकाश राजभण्डारी (बागलुङ) र केशवमान श्रेष्ठ (काठमाडौं) थिए । सबैको बराबर २५–२५ प्रतिशत शेयर थियो ।
दुई वर्षपछि केशवले आफ्नो १० प्रतिशत शेयर आकाशलाई बेचे । यसपछि आकाशको हिस्सा ३५ प्रतिशत पुग्यो भने केशवको १५ प्रतिशतमा घट्यो । अशोक र राजेशको हिस्सा भने यथावत् रह्यो ।
तर, अशोकको दाबी छ– आकाशले जालसाजी गरेर आफ्नो शेयर ३५ बाट ४२ प्रतिशत पुर्याए। अझ रोचक कुरा, आकाशले उल्टै अन्य शेयरधनीहरूले आफ्नो शेयर ८ प्रतिशतमा झारेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
२८ आना क्षेत्रफलमा फैलिएको कम्प्लेक्समा २०५ वटा सटर छन्, जसबाट मासिक झन्डै ४५ लाख रुपैयाँ भाडा उठ्ने गर्छ । यति ठूलो आम्दानी देखेपछि आकाशले विभिन्न छलकपटका माध्यमबाट सम्पूर्ण नियन्त्रण आफ्नो हातमा लिएको आरोप छ।
२०७४ सालमा आकाशले अन्य तीन साझेदारलाई हटाएर आफूलाई एकल सञ्चालक घोषणा गरे । त्यसपछि उनले अशोकलाई कम्प्लेक्सबाट निष्कासन गरे र उक्त संरचना ‘फेमिली कम्प्लेक्स’को रूपमा प्रयोग गर्न थाले।
यता, आकाशले प्रभु बैंकबाट लिएको २ करोड १४ लाखको ऋणको किस्ता पनि तिरेनन् । महिनामा दुई लाख बुझाउनुपर्ने किस्ता नतिरेपछि बैंकसँगको मिलेमतोमा ८० करोडको सम्पत्ति चार करोडमा लिलामी गरेर आफ्नै बुवालाई बिक्री गरे ।
यो लिलामी प्रक्रिया सुरु भएपछि मात्रै अन्य साझेदारहरूलाई जानकारी दिइयो, जसले उनीहरूलाई ‘छाँगाबाट खसे’जस्तो बनायो ।
कानुनी संघर्ष
बैंकको किस्ता नतिर्ने, कर नतिर्ने, कम्पनीको आन्तरिक निर्णय एकलरूपमा लिने, शेयर हेरफेर गर्दा ऐन मिच्ने यस्ता अनेकौं बदनियतपूर्ण गतिविधिमा संलग्न आकाशका विरुद्ध अशोक र अन्य शेयरधनीहरू अदालत पुगे ।
अदालतले लिलामी प्रक्रिया रोक्न आदेश दियो । तर, कर नतिरेपछि ठमेल कर कार्यालयले सबै साझेदारको खाता रोक्का गर्यो ।
त्यति मात्र होइन, आकाशले बिना लगानी आफ्नी बहिनी आयसालाई कम्पनीको शेयरधनी बनाए । कम्पनी ऐन २०६३ अनुसार सञ्चालक समितिको स्वीकृति बिना यस्तो गर्न मिल्दैन ।
यस्ता अवैध क्रियाकलापपछि अशोक र राजेश प्रहरीकहाँ जाहेरी लिएर पुगे तर जिल्ला प्रहरी परिसर, काठमाडौंले उजुरी लिन मानेन । पछि जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेपछि बल्ल मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभसम्बन्धी कसूरमा आकाश, आयसा र आनन्दविरुद्ध जाहेरी दर्ता भयो ।
जाहेरीमा उल्लेख भएअनुसार आकाशले कम्पनीको लेखा तथा व्यवस्थापन कब्जा गरेर भाडा रकम हिनामिना गरेका छन् । बुवा आनन्दप्रकाशसँग मिलेर ऋणको झुटो विवरण खडा गरे ।
उता, आकाश र आयसाले कम्पनी रजिष्ट्रार कार्यालयमा उजुरी दर्ता गरी युजर आईडी र पासवर्ड मागे । रजिष्ट्रार महेश बरालको इजलासले उनीहरूकै पक्षमा आदेश जारी गर्यो–कम्पनीको युजरनेम र पासवर्ड उपलब्ध गराउने र आकाशलाई एकल सञ्चालकका रूपमा अभिलेख गर्ने । यो आदेश अनुचित भएको भन्दै अशोकलगायतले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उच्चले पनि अशोकै पक्षामा फैसला गरेको छ ।
यसैबीच, काठमाडौं जिल्ला अदालतले गत चैत ८ मा ठगी कसूरमा आनन्द र आयसाविरुद्ध पक्राउ पुर्जी जारी गर्यो । उनीहरू सोही दिन हाजिरी जमानीमा छुटेका थिए । अनुसन्धान नहुनु र तत्काल छुट हुनुले चलखेलको आशंका बढाएको छ । आकाश भने अझै फरार छन् । १७ करोड २५ लाखका सुरु गरेको उक्त कम्प्लेक्सको मूल्य अहिले ८० करोड पुगेको छ ।
********
खण्डन
माथि सम्प्रेषित सामग्रीप्रति आनन्द प्रकाश राजभण्डारीले असहमति जनाउँदै खण्डन गरेका छन् । २०८२ जेठ १४ गते बुधबार प्रकाशित यस समाचार तथ्यहिन र भ्रामक भएको र यसले आफ्नो प्रतिष्ठामाथि आँच पु-याएकाले भन्दै खण्डन गर्न अनुरोध गरेअनुसार आनन्द प्रकाश राजभण्डारीबाट प्राप्त खण्डन यहाँ जस्ताको तस्तै प्रकाशित गरिएको छ । प्रेस काउन्सिल नेपाललाई बोद्धार्थ गरी राजभण्डारीबाट प्रेषित खण्डन आज मिति २०८२ असार ११ गते प्रकाशित गरेका छौँ । साथै, निवेदक राजभण्डारी को अनुरोधमा व्यक्तिको तस्बिरसमेत हटाएर कम्लेक्सको फोटो राखिएको जानकारी गराउँदछौँ । -सम्पादक
यस्तो छ आनन्द प्रकाश राजभण्डारीको खण्डन पत्र



***********
यस्तै, उल्लेखित समाचारप्रति आयसा राजभण्डारी पनि असहमति जनाएकी छन् । आयसाले आफुले कसैलाई नठगेको समेत प्रष्ट पारेकी छन् । प्रेस काउन्सिलाई बोद्धार्थ आयसाले खण्डन पत्रमा भनेकी छन्, ‘म कसैको निगाहबाट सञ्चालक सदस्य भएको होइन, मेरो लगानी अनुसार कम्पनी रजिष्टार कार्यालयबाट समेत शेयर लागत र सञ्चालक लागत आएको हो ।’ प्रकाशित समाचार झुटो र तथ्यहिन उल्लेख गर्दै आयसाले यस समाचारले आफ्नो मान प्रतिष्ठामा आँच पुगेकाले खण्डन प्रकाशित गर्न अनुरोध गरेअनुसार यो खण्डन आज मिति २०८२ असार ११ गते प्रकाशित गरिएको छ ।
यस्तो छ आयसाको खण्ड पत्र



–दुवै खण्डन प्राप्त भएको मिति : २०८२ असार १० गते मंगलबार
*******
यस्तै, माथि प्रकाशित सामग्रीउपर आकाश राजभण्डारीले पनि असहमति जनाउँदै सम्प्रेषित समाचारको खण्डन गरेका छन् । आकाश राजभण्डारीले आफ्नो खण्डन पत्रमा भनेका छन्, ‘माथि उल्लेखित बनावटी समाचारबाट मेरो इज्वत र प्रतिष्ठामा आँच आएको छ । म विरुद्ध लगाइएको आरोप तथ्यहिन छ । म विरुद्ध झुटा आरोप लगाई छापिएको समाचार खण्डन गरी पाउन अनुरोध गर्दछु ।
आकाश राजभण्डारीको खण्डन यस्तो छ ।



प्रेस काउन्सिल नेपाललाई बोद्धार्थ आकाश राजभण्डारीद्वारा प्रेषित खण्डन २०८२ असार १२ गते प्राप्त भएको र असार १४ गते जस्ताको तस्तै यहाँ प्रकाशित गरिएको छ । –सम्पादक