काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । साथै, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, देशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
बिहीबार राति गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।
पछिल्लो २४ घन्टामा देशका अधिकांश भू–भागममा वर्षा भएको छ । महाशाखाका अनुसार बर्दियाको मानपुरमा १२०.२ मिलिमिटर वर्षा भएको छ । अर्घाखाँचीको राङसिङमा ११३ मिलिमिटर वर्षा भएको छ भने, बाँकेको नौबस्तामा ५८, म्याग्दीको मुनामा ८७.४, काठमाडौंको पानीपोखरीमा ७७.४, सिन्धुपाल्चोकको बाँसखर्कमा ७२.४, काठमाडौंको सुन्दरीजल धापमा ४६.४ र कीर्तिपुरमा ४०.८ मिलिमिटर वर्षा भएको छ ।














