काठमाडौं । गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले र राजावादीहरुले गर्ने छुट्टाछुट्टै प्रदर्शनको क्रममा सवारी आवागमनको व्यवस्था मिलाउन करिब ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
एमालेले आज गणतन्त्र दिवसको दिन उत्सव मनाउन र राजावादीहरुले गणतन्त्र खारेज गरी राजसंस्था पुनस्र्थापनाको मागसहित प्रदर्शन गर्दैछन् । एमालेले ११ बजेदेखि करिब साढे २ बजेसम्म र राजावादीहरुले त्यसलगत्तै प्रदर्शन गर्ने तयारी गरेका छन् ।
एमालेको साँस्कृतिक झाँकीसहितको प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई शहीदगेट, बीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप आएर सम्पन्न हुने छ ।
त्यस्तै, राप्रपा, राप्रपा नेपाल सहित राजावादी दल र संस्थाहरुले रत्नपार्क–शान्तिबाटीका क्षेत्रमा प्रदर्शन गर्दैछन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीका अनुसार दुवै पक्षको प्रदर्शनलाई लक्षित पर्याप्त सुरक्षा प्रबन्ध मिलाइएको छ । कुनै अप्रिय घटना नहोस् र निषेधित क्षेत्रमा प्रवेश नहोस् भनेर त्यसै अनुसारको सुरक्षा योजना बनाएर सुरक्षा जनशक्ति परिचालन गरिएको उनले बताए ।
गणतन्त्र पक्षधर र विरोधीहरुको प्रदर्शन स्थल र प्रदर्शन समय अलग अलग भएपनि काठमाडौं उपत्यकाको यातायात आवागमन प्रभावित हुने देखिएको छ । त्यसैले सवारी आवागमनको प्रबन्ध मिलाउन तत्कालका लागि ७८३ जना ट्राफिक प्रहरीहरु खटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक गिरीले बताए । उनले आवश्यकता अनुसार ट्राफिकका संख्या थप्न पनि सक्ने बताए । कार्यक्रम स्थलतर्फ सवारी प्रवेश गर्न नदिई डाइभर्सन गर्ने व्यवस्था मिलाइएको छ ।














