काठमाडौं । संघीय संसद्मा आज बजेट प्रस्तुत हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई सांसदमात्र उपस्थित हुने भएका छन् । अन्य सांसदहरू भने राजसंस्था पुनस्र्थापनाको मागसहित आज हुने सडक आन्दोलनमा सहभागी हुने भएका हुन् ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले प्रतिनिधिसभामा रहेका १४ सांसदमध्ये ध्रुवबहादुर प्रधान र रोशन कार्कीमात्रै आजको संसद् बैठमा उपस्थित हुने बताए । उनले भने, ‘हाम्रा १४ जना सांसद हुनुहुन्छ । उहाँहरूमध्ये दुईजना मात्र आजको संसद्को संयुक्त बैठकमा उपस्थित हुनुहुनेछन् ।’
राप्रपा, राप्रपा नेपालसहित विभिन्न राजावादी संघसंगठनले राजसंस्थाको पुर्नस्थापना, हिन्दु राष्ट्र र प्रदेश संरचना खारेजीका लागि आज दिउँसो २ बजेपछि रत्नपार्कस्थित शान्तिबाटिकामा विरोध प्रदर्शन गर्दैछन् ।