काठमाडौं । मुलुकमा हाल ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा रहेका छन् । तीमध्ये २० वटा पूर्णसरकारी स्वामित्वका छन् भने २५ वटामा अधिकांश स्वामित्व सरकारको छ । गत आर्थिक वर्ष २०८०/८१ मा संस्थानको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ, जुन अघिल्लो आव २०७९/८० को तुलनामा ०.२२ प्रतिशतले कम हो ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको छ । सञ्चालनमा रहेका संस्थानमध्ये २८ वटा नाफामा, १६ वटा घाटामा र २ वटा बन्द अवस्थामा रहेका छन् । आव २०८०.८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड पुगेको छ, जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो ।
लाभांश ३५ प्रतिशत घट्यो
सार्वजनिक संस्थानबाट सरकारले पाउने लाभांश एक वर्षमै ३५ प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७९.८० मा सरकारले सार्वजनिक संस्थानबाट १३ अर्ब ७५ करोड लाभांश प्राप्त गरेकोमा आर्थिक वर्ष २०८०.८१ मा ८ अर्ब ८३ करोड पाएको छ ।
अर्थमन्त्री विष्णु पैडेलले संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार लाभांश ३५ प्रतिशत घटेको हो ।
नाफामा रहेका संस्थानहरूको मात्रै खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ । त्यस्तै नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी आर्थिक वर्ष २०८/८१ मा ३ अर्ब ६३ करोड रहेको छ।
नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ । कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०/८१ मा २.४ प्रतिशत रहेको छ ।
सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी ७ खर्ब ३ अर्ब ९३ करोड पुगेको छ। जसमा सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड रहेको छ।














