काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले मुलुकभर निर्माणाधीन ९ ठुला कृषि बजारको निर्माण कार्य सम्पन्न गरिने बताएका छन् । बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

उनले थप ६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइने र रासायनिक मलका लागि २८ अर्ब ८२ करोड छुट्याइएको उल्लेख गरे ।
यस्तै, विषादी नियन्त्रणका लागि थप जनशक्ति परिचालन गरिने र माटो परीक्षणका लागि घुम्ती टोली खटाइने उनले बताए । साथै, फूलखेतीलाई प्रोत्साहन गरिने र ५ करोड ५२ लाख डोज पशु खोप उत्पादन गरिने बताए ।