काठमाडौं । राजसंस्थाको पुनर्स्थापनालगायत माग राख्दै राजावादी समूहले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् । उपत्यकाका विभिन्न सात स्थानबाट सुरु भएका जुलुसहरू भृकुटीमण्डपमा पुगेर भेला भएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको पहिलो दिनको प्रदर्शनलाई ‘कास्टिङ’ मात्र भएको बताएका छन् । उनले भने, “आन्दोलनको यो कास्टिङ मात्र हो, गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहन्छ ।”
राजावादीहरूले आन्दोलनको औपचारिक सुरुआत आजबाट गरेका हुन् । उनीहरूले गणतन्त्रको अन्त्य र राजसंस्थाको पुनर्स्थापनाको मागसहित सडकमा उत्रिएको बताएका छन् । भृकुटीमण्डपमा आयोजित सभामा राप्रपाका शीर्ष नेताहरूले गणतन्त्रको विकल्पमा संविधानको पुनर्लेखन र राष्ट्रको समृद्धिका लागि राजसंस्थाको पुनःस्थापनाको आवश्यकता रहेको तर्क गरे ।