ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको छ । वैशाख शुक्ल प्रतिपदामा पुल्चोकबाट सुरु भएको यो रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेल पुगेको हो ।

हजारौँ स्थानीय, विशेषगरी नेवार समुदायसहित अन्य समुदायको सहभागितामा ललितपुरको सडकमा मानवसागर देखियो। नेपालको सबैभन्दा लामो जात्रा मानिने यो रथयात्रा असार शुक्ल चतुर्थीसम्म चल्छ । आगामी आइतबार जावलाखेलमा भोटो जात्रा मनाइने छ। त्यसपछि मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुङ्मती पुर्याएर जात्रा समापन गरिन्छ ।














