काठमाडौं । हिन्दु राजतन्त्रको पुनःस्थापना र राजाको माग गर्दै जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन सुरु गरेका राजावादी दल र समूहले दोस्रो दिन पनि काठमाडौंको सडकमा प्रदर्शन गरेका छन् । पहिलो दिन रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका उनीहरूले दोस्रो दिन माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म राजतन्त्रको पक्षमा नाराबाजी र प्रदर्शन गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेताहरूको उपस्थितिमा भएको प्रदर्शनमा सहभागीहरूले छाता ओढेर सडकमा उभिए । उनीहरूले छातालाई राजमुकुटको प्रतीकका रूपमा प्रस्तुत गर्दै नाराबाजी गरेका थिए ।
प्रदर्शनका कारण काठमाडौंको माइतीघर, नयाँ बानेश्वरलगायत क्षेत्रमा सवारी आवागमनमा अवरोध भएको छ । राजावादी समूहले आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेका छन् ।