Logo
Logo

नेपाल प्रहरीका ११ डीआईजीको विभिन्न विभागमा पदस्थापन


3.8k
Shares

काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरिएको छ । गृहमन्त्री रमेश लेखकले जेठ १३ गते गरेको बढुवा निर्णयलाई प्रहरी प्रधान कार्यालयले शुक्रवार सूचना जारी गर्दै सार्वजनिक गरेको हो ।

बढुवासँगै नव डीआईजीहरूको विभिन्न विभागमा पदस्थापन गरिएको  छ। बढुवा हुनेमा सुदर्शन प्रसाद कोइराला विशेष ब्युरोमा पदस्थापन भएका छन् । उनले यसअघि उक्त ब्युरोमा कार्यरत डीआईजी सिद्धिविक्रम शाहको स्थान लिएका हुन्, जसलाई हालै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरिएको थियो ।

यस्तै, विनोद घिमिरेलाई प्रहरी महानिरीक्षकको सचिवालय, दिपेन्द्र घर्ती क्षेत्रीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र दिपक रेग्मीलाई अन्वेषण योजना तथा विकास निर्देशनालयमा पदस्थापन गरिएको छ ।

माधव प्रसाद श्रेष्ठले कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । विगत तीन महिनादेखि कर्णाली प्रदेश डीआईजीविहीन रहेको थियो । त्यस्तै, दिलिप सिंह देउवालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय र दिपककुमार बस्नेतलाई प्रदेश समन्वय विभागमा खटाइएको छ ।

यसैगरी, ओमबहादुर रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जयराज सापकोटालाई कार्य निर्देशनालय, संजिव शर्मा दासलाई अपराध अनुसन्धान निर्देशनालय र सुरेन्द्रबहादुर गुरुङलाई कार्य विभागमा पदस्थापन गरिएको छ। गुरुङको दरबन्दी साइबर ब्युरोमा रहे पनि उनलाई काजमा कार्य विभागमा खटाइएको हो ।

प्रतिक्रिया दिनुहोस्