काठमाडौं । नेपालमा यस वर्ष मनसुन सरदर मितिभन्दा १५ दिन छिटो प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको विज्ञप्तिअनुसार मे २९, २०२५ मा रातिदेखि मनसुन कोशी प्रदेशको पूर्वी भागबाट प्रवेश गरी सो क्षेत्रका अधिकांश भूभागमा फैलिएको छ । मनसुनका कारण कोशी प्रदेशका मौसम केन्द्रहरूमा हल्कादेखि मध्यम वर्षा भएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक कमलराम जोशीका अनुसार नेपालमा मनसुन प्रवेशको सरदर मिति जुन १३ भए पनि यस वर्ष मे २९ मा नै मनसुन भित्रिएको हो । उनले भने, “नेपालका अन्य भूभागमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समय लाग्नेछ। हाल देशका बाँकी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम छ ।”
मौसम पूर्वानुमान महाशाखाले निरन्तर मौसमको अनुगमन गरिरहेको र नियमित रूपमा सूचना अद्यावधिक गर्ने जोशीले बताए । विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । जेठ १८ देखि असोज १४ सम्मको चारमहिने मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ ।
कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनी प्रदेशको उत्तरी भाग र गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा सरदरभन्दा बढी वर्षाको सम्भावना ५५ देखि ६५ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशको दक्षिणी भाग, लुम्बिनीको पश्चिमी भाग, गण्डकीको उत्तरपूर्वी भाग, बागमती र कोशी प्रदेशको उत्तरी भागमा सरदरभन्दा बढी वर्षाको सम्भावना ४५ देखि ५५ प्रतिशत छ । मधेस प्रदेशको पूर्वी र दक्षिणी भागमा सरदर वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशत छ भने बाँकी क्षेत्रमा सरदरभन्दा बढी वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।














