काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै यस्ता भनाइले लोकतान्त्रिक मूल्य र मानव अधिकारप्रति प्रश्न उठ्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने अभिव्यक्तिको तत्काल विरोध गरेको बताए ।

कोइरालाले उक्त अभिव्यक्तिको भोलिपल्ट राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओली अनुपस्थित भएकोप्रति पनि आलोचना गरे । उनले भने, “राष्ट्रिय मानव अधिकार आयोग, जसलाई संवैधानिक हैसियत प्राप्त छ, उसले समेत प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको भन्दै वक्तव्य जारी गरेको थियो । तर, जेठ १४ गतेको उक्त कार्यक्रममा प्रधानमन्त्रीले बहाना बनाएर सहभागिता जनाउनुभएन । यस्तो अवस्थामा हामी कस्तो लोकतन्त्र खोजिरहेका छौँ रु”
कोइरालाले नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा समेत यो विषयमा छलफल हुने अपेक्षा गरे पनि त्यस्तो नभएकोमा बताए । उनले भने, “मलाई लागेको थियो, यो गम्भीर विषयमा छलफल होला, तर मेरो नै विषयमा छलफल भएछ । हाँसो लाग्यो । राजनीतिमा सहनशीलता चाहिन्छ, तर सरकारले गरेका गलत कामलाई गलत भन्न हामी किन डराइरहेका छौँ रु”
फरक प्रसङ्गमा कोइरालाले प्रजातान्त्रिक संस्कार, आचरण, मूल्य र मान्यताका लागि फेरि लड्नुपर्ने आवश्यकता रहेको बताए। उनले सरकारको गलत कदमविरुद्ध बोल्न नसक्नुले लोकतान्त्रिक मूल्यमाथि प्रश्न उठ्ने बताए ।












