काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गणतन्त्र दिवस ९जेठ १५० मा काठमाडौंमा भएको प्रदर्शनलाई लिएर नेकपा एमाले र राजावादीको तुलना गर्दै टिप्पणी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले युवाहरूमा बढ्दो निराशाका कारण राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुसमा एमालेको भन्दा बढी सहभागिता देखिएको बताए ।

“हाम्रो आचरण गणतान्त्रिक नहुँदा युवाहरू निराश छन् । उनीहरूले राजाको शासनकाल देखेका छैनन्, केवल चार नेताको सत्ताको खेल देखेका छन् । त्यसैले उनीहरू बाटो खोजिरहेका छन्,” कोइरालाले भने । उनले सरकारका गलत कामको आलोचना गर्न नसक्दा समस्या बढेको र आफ्नो अभिव्यक्तिमाथि भएको चर्चाप्रति असन्तुष्टि जनाए ।
केही दिनअघि एमाले अध्यक्ष केपी ओलीले जेठ १५ मा काठमाडौं आफ्नो नियन्त्रणमा हुनुपर्ने भन्दै कार्यकर्तालाई निर्देशन दिएका थिए । कोइरालाले प्रजातान्त्रिक मूल्य, संस्कार र आचरणका लागि पुनः लड्नुपर्ने आवश्यकता औँल्याउँदै भने, “गलत काम नगरौँ, सही काम गर्न नसके चुपचाप घरमा बसौँ ।”











