काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीको राजीनामा माग पूरा नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले एकजना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको भन्दै पूरा नहुने बताएका हुन् ।

आज बिहान कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘हाफ म्याराथुन’ प्रतियोगिताको गरेपछि प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुने बताए ।
उनले भने, ‘म प्रतिक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छ । तर, माग राख्दा वा विरोध गर्दा आधार चाहिन्छ । गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन् । एउटा कर्मचारीलाई अख्तियारले बोलायो । बयान लिएको सुनेको छैन । प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन । उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु पर्दैन ।’
प्रधानमन्त्री ओलीले तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उनीमाथि गृह मातहतको सिआइबीले छानबिन गरेको भन्दै अहिले अहिले त्यस्तो अवस्था नभएको बताए ।
‘अहिले विरोध गर्न नपाएर निहुँ खोजिएको मात्रै हो । यसरी विरोध गरिएको छ कि मानौं ३५ मिलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन’ प्रधानमन्त्रीले भने । विपक्षीहरुको मागलाई उनले बच्चाहरूको जिद्दीपनजस्तै रहेको टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘बच्चाहरुले झोला वा खेलौना हात्ती किनिदेऊ भन्दा किनिदिन सकिन्छ । सक्कली हात्तीलाई झोलामा हालिदेउ भन्दा हाल्न नसकिए जस्तै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव छैन ।’
भिजिट भिषा प्रकरणमा नाम जोडिएपछि नेकपा मोआवादी केन्द्र, रास्वपा लगायतका विपक्षी दलहरुले गृहमन्त्री लेखकको राजीनामा माग्दै संसद अवरोेध गर्दै आएका छन् । माओवादी केन्द्रले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने निर्णय गरेको छ ।














