काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सरकारले राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या गरेको आरोप लगाएका छन् । साथै, उनले यसको प्रतिवादमा उत्रिन प्रभावित क्षेत्रका बासिन्दाका आलवा सचेत नागरिकसँग अपिलसमेत गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले शनिबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै २०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारले घाँटी रेट्न सुरु गरेको र अहिले ओली सरकारले २०८२/०८३ को बजेटमार्फत त्यसको हत्या गरेको दाबी गरेका हुन् ।
उनले देशको बहुआयामिक आर्थिक रूपान्तरणका लागि गेमचेन्जर आयोजनाका रूपमा यसको प्रमुख परिकल्पनाकार र पहलकर्ता आफू रहेको भन्दै यो सरासर बदनियतपूर्ण, जनविरोधी र राष्ट्रघाती निर्णय भएको बताएका छन् ।
डा भट्टराईले लेखेका छन्, ‘अन्ततः राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको हत्या भएको छ । २०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारद्वारा तरबार चलाएर घाँटी रेट्न सुरु गरिएको यो राष्ट्रिय सपनाको आयोजनालाई अहिले ओली सरकारले २०८२/०८३ को बजेट–बक्तव्य (बुँदा २२४) मार्फत कथित ‘सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ’ भनेर पूरै घाँटी छिनालेको छ ।’
उनले यसको माग गर्ने गोरखा र धादिङका प्रभावित क्षेत्रका जनताप्रति सहानुभूति र ऐक्यबद्धता जनाउँदै अगाडि भनेका छन्, ‘यो राष्ट्रिय विश्वासघात र अपराधपूर्ण निर्णयको सशक्त प्रतिवाद गर्न म प्रभावित क्षेत्रका जनता र सबै सचेत नागरिकहरूसँग हार्दिक अपिल गर्दछु ।’ डा भट्टराईले वक्तव्यसँगै केही कागजातहरु समेत सार्वजनिक गरेका छन् ।














