काठमाडौं । राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग राख्दै राजावादीहरूले शनिवार पनि काठमाडौंमा आन्दोलनलाई निरन्तरता दिएका छन्। पूर्वनिर्धारित कार्यतालिका अनुसार, शनिवार नारायणहिटी दरबार परिसरमा प्रदर्शन गर्ने योजना भए पनि शुक्रवार साँझ उक्त क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेपछि आन्दोलनको स्थान परिवर्तन भएको थियो । फलस्वरूप, राजावादीहरूले शान्तिबाटिकाबाट प्रदर्शन सुरु गरे ।

शनिवारको आन्दोलन रत्नपार्कबाट सुरु भई नक्साल हुँदै बालुवाटार पुगेको थियो । राष्ट्रपति, प्रधानमन्त्री र सभामुखजस्ता उच्चपदस्थहरूको सरकारी निवास रहेको बालुवाटार क्षेत्रमा पुगेर प्रदर्शनकारीहरूले नाराबाजी गरे । आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत विभिन्न दलका नेता र कार्यकर्ताहरू सहभागी थिए ।
प्रदर्शनकारीहरूले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश’ जस्ता नारासहित प्लेकार्डहरू प्रदर्शन गरे । बालुवाटार क्षेत्रलाई सरकारले यसअघि नै संवेदनशील र निषेधित क्षेत्र घोषणा गरिसकेको छ । निषेधित क्षेत्रमा प्रदर्शन रोक्न ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।
आन्दोलनका कारण काठमाडौंको केही क्षेत्रमा तनावको स्थिति सिर्जना भएको छ। राजावादीहरूले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।